भारतीय रेलवेको तत्काल टिकेट बुक गर्न आधार कार्ड अनिवार्य, नेपाली यात्रुहरूलाई सास्ती

वीरगञ्ज । भारतीय रेलवेले यात्रु सेवामा सुधार र पारदर्शिता बढाउने उद्देश्यले ल्याएका नयाँ नियमहरूले नेपालबाट यात्रा गर्ने हजारौँ यात्रुहरूलाई ठूलो असुविधा हुने भएको छ । विशेषगरी तत्काल टिकट बुकिङका लागि आधार कार्ड र आधारमा आधारित ओटिपि (वन-टाइम पासवर्ड) प्रमाणीकरण अनिवार्य गर्ने नियमले नेपाली यात्रुहरूलाई प्रत्यक्ष असर पार्ने भएको छ ।  नियमहरूले भारत र नेपालबिचको जनस्तरको सम्बन्धमा समेत नकारात्मक प्रभाव पर्न सक्ने भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । भारतीय रेलवेले आधिकारिक वेबसाइट (आइआरसीटीसी) र मोबाइल एपमार्फत तत्काल टिकट बुकिङका लागि आधार नम्बर लिङ्क गरी अनिवार्य प्रमाणीकरण गर्नुपर्ने व्यवस्था लागू गरेको छ । गत १ जुलाई देखि नियम आईआरसीटीसीको अनलाइन प्लेटफर्ममा लागू भएको छ भने आगामी १५ जुलाई देखि पीआरएस (प्यासेन्जर रिजर्भेसन सिस्टम) काउन्टरहरू र नेपालका अधिकृत एजेन्टहरूमार्फत तत्काल टिकट बुकिङमा पनि आधारमा आधारित ओटिपि प्रमाणीकरण अनिवार्य गरिनेछ । नेपालमा आधार कार्ड प्रणाली लागू नभएको र अधिकांश नेपाली नागरिकसँग आधार नम्बर नहुने भएकाले नयाँ नियमले तत्काल टिकट बुकिङ गर्न नसक्ने अवस्था सिर्जना भएको वीरगञ्जस्थित ट्राभल एजेन्सी इजी कम्युनिकेसनका सञ्चालक रोशन गुप्ताले बताए । उनले भने, “नेपालमा आधार कार्डको प्रणाली नै छैन । हाम्रा यात्रुहरूले तत्काल टिकट बुक गर्न नसक्ने अवस्था आएको छ, जसले दैनिक हजारौँ नेपालीको यात्रा योजनामा बाधा पुग्नेछ ।” नेपालबाट दैनिक हजारौँको सङ्ख्यामा यात्रुहरू भारतीय रेल सेवामार्फत भारतका विभिन्न सहरहरूमा उपचार, व्यापार, शिक्षा र अन्य व्यक्तिगत कामका लागि यात्रा गर्ने गर्छन् । तर, नयाँ नियमले उनीहरूलाई सामान्य टिकट वा अग्रिम बुकिङमा मात्र सीमित हुनुपर्ने बाध्यता सिर्जना भएको गुप्ताले बताए । भारतीय रेलवेले नियमहरू टिकटको कालोबजारी र अनधिकृत गतिविधि नियन्त्रण गर्न तथा वास्तविक यात्रुहरूलाई प्राथमिकता दिन ल्याइएको दाबी गरेको छ । तर, नेपालमा आधार कार्डको अभावमा नेपाली यात्रुहरू यस्ता सुविधाबाट वञ्चित हुने जोखिम बढेको छ । गुप्ताले थपे, “यो नियमले वास्तविक यात्रुहरूलाई सुविधा दिनेभन्दा पनि हामीलाई झन् अप्ठ्यारोमा पारेको छ ।” सामुदायिक सेवा केन्द्र श्रीपुर-मुर्लीका अध्यक्ष राम कुमार सर्राफले पनि यस्ता नियमहरूले नेपाल र भारतबिचको सांस्कृतिक र सामाजिक निकटतालाई असर पार्ने बताए । “नेपाल र भारतबिचको खुला सिमाना र ‘रोटी-बेटी’को सम्बन्धले हामीलाई भारतीय रेल सेवामा निर्भर बनाएको छ । तर, आधार प्रमाणीकरणजस्ता नियमहरूले नेपाली यात्रुहरूलाई ठूलो असुविधा हुने देखिन्छ,” उनले भने । भारतीय रेलवेको नयाँ नियमसँगै सीमावर्ती क्षेत्रमा अन्य समस्याहरू पनि थपिएका छन् । वीरगञ्जलाई भारतको रक्सौलसँग जोड्ने मैत्री पुलमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले स्थापना गरेको चेकपोस्टले स्थानीयहरूलाई सास्ती दिएको गुनासो बढ्दो छ । घरायसी सामग्री खरिद गरेर भारतबाट फर्किने नेपालीहरूलाई भारतीय सुरक्षाकर्मीहरूले अनावश्यक दुख दिने गरेको स्थानीयहरूको भनाइ छ । “रेलवेको नियम र सीमामा हुने अनावश्यक जाँचले नेपालीहरूलाई दोहोरो सास्ती भएको छ । यस्ता कुराले दुई देशबिचको सम्बन्धमा नकारात्मक असर पर्न सक्छ,” सर्राफले चेतावनी दिए । सरोकारवालाहरूले नयाँ नियमहरूले भारत र नेपालबिचको जनस्तरको सम्बन्धमा नकारात्मक असर पर्ने चिन्ता व्यक्त गरेका छन् । भारत सरकारले बारम्बार नेपालसँगको सांस्कृतिक र सामाजिक सम्बन्धलाई प्रगाढ बनाउनुपर्ने कुरा दोहोर्‍याए पनि यस्ता नियमहरूले त्यसको विपरीत प्रभाव पार्ने उनीहरूको तर्क छ । नेपालका यात्रु हितमा काम गर्ने विभिन्न संघ–संस्थाहरूले भारतीय रेलवेको नयाँ नियमले नेपाली यात्रुहरूलाई परेको असुविधालाई सम्बोधन गर्न वैकल्पिक व्यवस्था गर्न भारत सरकारसँग आग्रह गर्नुपर्ने माग उठाएका छन् । “नेपाली नागरिकहरूका लागि आधार कार्डको सट्टा अन्य पहिचान पत्र जस्तै नागरिकता, मतदाता परिचयपत्र वा पासपोर्टलाई मान्यता दिने व्यवस्था गर्न सकिन्छ,” गुप्ताले सुझाव दिए ।