पर्सागढी नगरप्रमुख गोकर्ण पाठकद्वारा विभिन्न विद्यालय निर्माण कार्यको अनुगमन

पर्सागढी । पर्सागढी नगरपालिकाका नगरप्रमुख गोकर्ण पाठकले नगरभित्रका विभिन्न वडामा भइरहेको शैक्षिक संरचना निर्माण तथा स्तरोन्नतिको कार्यको स्थलगत अनुगमन गरेका छन्। नगरप्रमुख पाठकसँगै ईन्जिनियर राजेश प्रसाद बास्तोला तथा स्थानीय समाजसेवी र विद्यालय प्रतिनिधिहरूको सहभागितामा विभिन्न निर्माणाधीन भवनहरूको अनुगमन गरिएको हो। अनुगमन टोलीले वडा नं. ३ स्थित श्री जनता माध्यमिक विद्यालय, पकडियां बढनिहारमा निर्माण सम्पन्न नवनिर्मित भवन तथा छापामया कक्षाकोठा, वडा नं. ४ अन्तर्गत श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बार्वाछोटैलीमा निर्माण भइरहेको नयाँ भवन, श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय हरदासपुरमा छाना निर्माणको कार्यको स्थलगत निरीक्षण गरेको थियो। त्यस्तै, वडा नं. ५ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बहुआर्वा शिरमा नयाँ भवन निर्माण कार्य तथा श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय हर्दियामा निर्माण भइरहेको दुई कोठे भवनको पनि अवलोकन गरिएको नगरपालिकाले जनाएको छ। नगरप्रमुख पाठकले शैक्षिक पूर्वाधार निर्माणमा गुणस्तर तथा समयसीमा ध्यान दिन सम्बन्धित पक्षलाई निर्देशन दिएका थिए। उनले भने, “शिक्षा क्षेत्रको विकाससँगै शैक्षिक वातावरणमा सुधार ल्याउन पूर्वाधार निर्माण अनिवार्य छ। नगरपालिकाले विद्यार्थीको सुविधा र सिकाइ प्रभावकारिता सुनिश्चित गर्न पूर्वाधार निर्माणमा कुनै कसर बाँकी राख्ने छैन।” अनुगमन टोलीमा वडा अध्यक्षहरू, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरू, स्थानीय अभिभावक तथा समाजसेवीहरूको पनि सक्रिय सहभागिता थियो। यस अनुगमनले निर्माणकार्यको पारदर्शिता र प्रभावकारिता सुनिश्चित गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।