
वीरगञ्ज ।पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका–५ की लालमुनी खातुन अहिले घरविहीन भएकी छन्। वर्षौंअघि २ लाख रुपैयाँ ऋण लिएकी खातुनको रकम ब्याजसहित ७ लाख पुगेपछि मिटरब्याजी साहुले प्रहरीको सहयोगमा अदालतको आदेश देखाएर उनको घर खाली गराएका छन्। पीडित लालमुनी खातुनका श्रीमान भारतको मुम्बईमा श्रमिकका रूपमा कार्यरत छन्। श्रीमान विदेशमा रहेका बेला परिवारलाई जानकारी नदिई स्थानीय साहुले अदालतको भरमा जबरजस्ती घर खाली गराएका हुन्। यसले परिवारलाई मानसिक र सामाजिक पीडामा पारेको छ। घटना अमानवीय मात्र होइन, मिटरब्याजको नाममा गरिने अत्याचारको ताजातम उदाहरण बनेको छ। सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोमा लालमुनी खातुनको दर्दनाक अवस्था देखिन्छ। घरको सामान सडकमा छरपस्ट बनाइएको दृश्य हेर्दा राज्यको संवेदनशीलता र न्याय प्रणालीको पहुँचप्रति गम्भीर प्रश्न उठेको देखिन्छ। स्थानीयवासी र सामाजिक अभियन्ताहरूले मिटरब्याज पीडितका पक्षमा न्याय सुनिश्चित गर्न माग गरेका छन्। उनीहरूले पीडितको पुनर्स्थापना तथा मिटरब्याजी साहुका विरुद्ध तत्काल छानबिन र कारबाही गर्न सम्बन्धित निकाय र स्थानीय सरकारसँग आग्रह गरेका छन्।
यस घटनाले अझै पनि ग्रामीण क्षेत्रमा सर्वसाधारण कसरी मिटरब्याजको पासोमा फसिरहेका छन् भन्ने तीतो यथार्थ उजागर गरेको छ। सरकारले यस्ता घटनालाई गम्भीरतापूर्वक लिएर दिगो समाधान खोज्नुपर्ने स्थानीयको माग छ।



