पथलैयामा लागूऔषध गाँजासहित सर्लाहीका वीरेन्द्र चौधरी पक्राउ

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले पथलैया चोकमा ७ किलो ४७० ग्राम लागूऔषध गाँजा सहित एक व्यक्तिलाई पक्राउ गरेको छ । बुधवार दिउँसो ३ बजे प्रहरी चौकी पथलैयाबाट प्रहरी नायब निरीक्षक बब्बि बम्जनको नेतृत्वमा खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उपमहानगरपालिका – १ पथलैया चोकमा नारायणघाटबाट मलंगवातर्फ जाँदै गरेको ना ५ ख ४८२२ नम्बरको यात्रुवाहक बसलाई जाँच गरेको थियो । जाँचका क्रममा बसमा सवार सर्लाही, विष्णु गाउँपालिका – ३ मधुवनगोठ बस्ने ५४ वर्षीय वीरेन्द्र चौधरीको साथमा रहेको कालो झोलामा शङ्कास्पद वस्तु फेला परेको थियो । झोला खानतलासी गर्दा त्यसभित्र लुकाएर राखिएको ७ किलो ४ सय ७० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।