जनकपुर होटेल हत्या प्रकरण : विमलेशसँगै बस्न गएकी २४ वर्षीय युवती जुली झा पक्राउ

वीरगञ्ज । महोत्तरी गाउँपालिका–१ पर्साका २८ वर्षीय विमलेश यादव उर्फ शनीको हत्याको आरोपमा धनुषा प्रहरीले २४ वर्षीय जुली झालाई पक्राउ गरी सार्वजनिक गरेको छ । बलवा नगरपालिका–७, बनौटाकी झालाई सोमबार बिहान पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, शनिवार राति जनकपुरको जिरोमाइलस्थित होटेल एसपी एन्ड गेस्टहाउसमा विमलेशमाथि धारिलो हतियारले आक्रमण गरी होटेलको पहिलो तलाबाट खसालिएको थियो । गम्भीर घाइते भएका विमलेशको प्रादेशिक अस्पताल जनकपुरमा आइतबार बिहान पौने ८ बजे उपचारका क्रममा मृत्यु भएको थियो । प्रहरीका अनुसार, शनिवार राति ९:५५ बजे विमलेश र जुली सँगै होटेलमा प्रवेश गरेका थिए । करिब ५ घण्टापछि, आइतबार बिहान २:५७ बजे विमलेश नग्न र रक्ताम्मे अवस्थामा होटेलको पहिलो तलाबाट खसेको र जुली तुरुन्तै तल ओर्लेर भागेको दृश्य सिसिटिभी क्यामेरामा कैद भएको छ । सोही आधारमा प्रहरीले जुलीलाई आइतबार दिउँसो पक्राउ गरेको थियो । धनुषा प्रहरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) वरुणबहादुर सिंहले घटना शनिवार राति करिब ३ बजे भएको र विमलेशमाथि धारिलो हतियारले आक्रमण गरी तल खसालिएको पुष्टि गरे । मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । प्रहरीले घटनाको विस्तृत अनुसन्धान जारी राखेको र विभिन्न कोणबाट हत्याको रहस्य खोल्ने प्रयास गरिरहेको जनाएको छ ।