
वीरगञ्ज । पर्साको ग्रामीण भेगमा लामो समयदेखि पानी नपर्दा किसानहरू चिन्तित बनेका छन् । आकाशे पानीको भरमा गरिने धान खेतीमा खडेरीको मारले खेतहरू बन्जर बन्न थालेका छन् । सखुवाप्रसौनी गाउँपालिका–५ का किसान विश्वनाथ यादवका अनुसार १७ दिनदेखि पानी नपर्दा धान रोप्नका लागि छरिएको बिउ ब्याडमै मर्न थालेको छ । असार महिनाभित्र पानी नपरे यो वर्ष धान खेती नै नहुने सम्भावना रहेको उनले बताए । खडेरीका कारण नदी, कुलो र धाराहरू सुकिसकेका छन् । सिँचाइको अभावमा बिउमा पानी हाल्न नसक्दा किसानहरूले ठूलो नोक्सानी बेहोरिरहेका छन् । गण्डक नहरमा पानी उपलब्ध भएकाले नहरको दक्षिणी क्षेत्रमा खेतीमा खासै समस्या नरहेको यादवले बताए । तर, नहरको उत्तरी क्षेत्रमा आकाशे पानी, बोरिङ, कुलो र बाँधको भरमा खेती हुँदै आएको छ । लामो खडेरीले कुलो, बाँध र बोरिङहरू सुकेपछि किसानहरूको वर्षभरिको मेहनत खेर जाने अवस्थामा पुगेको छ । किसानहरूले समयमा मलखाद नपाउने र खेतमा बोरिङ जडान नहुनुले समस्या झनै जटिल बनेको छ । सखुवाप्रसौनीका किसान रामगुलाम यादवले भने, “हामीले वर्षभरको मेहनत धान खेतीमा लगाउँछौँ, तर पानी नपर्दा र सिँचाइको व्यवस्था नहुँदा सबै मेहनत खेर जाँदै छ ।” उनले सम्बन्धित निकायले सिँचाइ, बिउ, मलखाद र धानको उचित मूल्यमा ध्यान नदिएको गुनासो गरे । ग्रामीण भेगमा केही किसानहरूले चैते धान खेती गर्ने गरेका छन् । यद्यपि यो वर्ष चैते धानको बजार मूल्य प्रतिक्विन्टल एक हजार आठ सय रुपैयाँमा। डीएपी दुई हजार पाँच सय रुपैयाँ र युरिया एक हजार रुपैयाँमामा किनेर, रोपाइँ, बिउ, सोहाइ, धान कटानी र ढुवानीको खर्च जोड्दा किसानहरूले ठूलो घाटा बेहोरिरहेका छन् । रामगुलाम यादवले भने, “चैते धान काटेर घरमा भकारीमा थन्क्याएका छौँ, तर बजारमा उचित मूल्य पाइरहेका छैनौँ । मूल्य बढ्छ कि भन्ने आशामा बसेका छौँ ।” किसानहरूले प्रत्येक वर्ष खडेरी र सिँचाइ अभावको समस्या भोग्दै आएका छन् । आकाशे पानीमा निर्भर रहने किसानहरूका लागि समयमा सिँचाइको व्यवस्थापन नहुँदा खेतीमा ठूलो जोखिम बढेको छ । विश्वनाथ यादवले सम्बन्धित निकायहरूलाई सिँचाइ व्यवस्था, गुणस्तरीय बिउ, मलखाद र धानको उचित बजार मूल्य सुनिश्चित गर्न आग्रह गरेका छन् । “हाम्रोजस्तो सानो गाउँमा बोरिङ र सिँचाइको राम्रो व्यवस्था भए धान खेतीमा ठूलो राहत मिल्नेथियो,” उनले भने । पर्साका किसानहरूले खडेरीको मार र सिँचाइ अभावले गर्दा ठूलो सङ्कट भोगिरहेका छन् । सम्बन्धित निकायले समयमै सिँचाइ सुविधा, मलखाद र बजार व्यवस्थापनमा ध्यान नदिए यो वर्ष धान खेतीमा ठूलो क्षति हुने निश्चित छ । किसानहरूले सरकार र स्थानीय प्रशासनसँग तत्काल सहयोगको अपेक्षा गरेका छन् ।



