एसपी धिमालको नेतृत्वमा सशस्त्र प्रहरीको सक्रियता : पर्सामा २९ करोडको तस्करी सामान बरामद, हुन्डी र लागूऔषध नियन्त्रणमा ठूलो सफलता

वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साले गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक (एसपी) राधेश्याम धिमालको नेतृत्वमा भन्सार राजस्व सङ्कलन, अवैध गतिविधि नियन्त्रण, विपद् उद्धार र सामुदायिक विकासका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको छ । एसपी धिमालको नेतृत्वमा सशस्त्र प्रहरीले गत आर्थिक वर्ष २०८१/८२ मा सीमा सुरक्षा र समुदायको कल्याणमा सक्रिय भूमिका निर्वाह गर्दै राष्ट्रिय सुरक्षामा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ । सशस्त्र प्रहरीले एक वर्षमा झन्डै २९ करोड रुपैयाँ बराबरको तस्करीको (भन्सार राजस्व छलेर भित्र्याइएको) मालसामान बरामद गरेको छ । वीरगञ्ज नाकासहित पर्सा जिल्लाका विभिन्न स्थानबाट गत आर्थिक वर्ष २०८१/८२ मा भारतबाट भन्सार राजस्व छलेर भित्र्याइएका कपडा, हार्डवेयर, मोटरपार्ट्स, औषधिलगायतका गरी २८ करोड ९२ लाख ५० हजार १९९ रुपैयाँ बराबरका सामान बरामद गरेको हो । गत आर्थिक वर्षमा सबै भन्दा बढी भदौ महिनामा ३ करोड ५६ लाख ६४ हजार रुपैयाँको र सबैभन्दा कम १ करोड ५५ लाख ३ हजार रुपैयाँ बराबरको सामान बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी तथा सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) देवेन्द्र बहादुर सिंहले जानकारी दिए । गत आर्थिक वर्षमा बरामद गरिएका सामानमध्ये ११ करोड ९९ लाख ४७ हजार रुपैयाँ बराबरको सामान आवश्यक अनुसन्धान तथा  कारबाहीका लागि बाराको पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा र बाँकी सामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको डिएसपी सिंहले बताए । यस्तै गत आर्थिक वर्षमा पर्सामा सशस्त्र प्रहरीले श्रोत नखुलेको अर्थात् हुन्डीको १ करोड १५ लाख ९० हजार २२ रुपैयाँसहित त्यसमा संलग्न २१ जनालाई पक्राउ पनि गरेको सिंहले जानकारी दिए । उनका अनुसार, गत एक वर्षमा पर्साका विभिन्न स्थानबाट सशस्त्र प्रहरीले लागूऔषध गाँजा ४२३ केजी, चरेस ३९ केजी, खैरो हेरोइन ३.२ ग्राम, ट्रामाडोल २ लाख २३ हजार ३९० पिस, नाइट्रोभेट ६ हजार ८७६ पिस बरामद गरेको छ । यस्तै गत एक वर्षमा सशस्त्र प्रहरीले पर्साका विभिन्न स्थानमा गरी १६ बिघा ५ कट्टा जग्गामा लगाइएको गाँजा खेती नष्ट पनि गरेको सिंहले जानकारी दिए ।