आज वीरगञ्जसहित देशभर हरिशयनी एकादशी मनाइँदै

वीरगञ्ज । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा रोपी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिएको छ । ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरको तुलसी मठ (मोठ) मा राखिएको दलका बिरुवा आज मोठमा सारिएको हो । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई भगवान् विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार, आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीर सागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको हो । भगवान् विष्णु शयन गर्नुहुने यी चार महिनालाई चतुर्मास पनि भनिन्छ । यस वर्ष साउनमा अधिकमास परेका कारण चान्द्रमास अनुसार चतुर्मास पाँच महिनाको हुने भएको छ । एक वर्षमा २४ एकादशी पर्छन् तर अधिकमास परेको वर्ष भने २६ वटा एकादशी पर्छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन् । कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् । दुवै एकादशीलाई व्यवहारमा ‘ठूलो एकादशी’ भन्ने प्रचलन पनि छ ।हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि वीरगञ्ज र काठमाडौँलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । चतुर्मासभर देशभरका नारायण मन्दिरमा भक्तजनको विशेष घुइँचो लाग्ने गर्छ । एकादशीका दिन विशेषगरी चामलबाट बनेका परिकार नखाने, रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ । र महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ । तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्नि स्थापना विधिबाट पूजा आराधनासहित चतुर्मास व्रतको उद्यापन गरिन्छ । उद्यापनका लागि मार्गशीर्ष कृष्ण पञ्चमीका दिनसम्म जुराउनु नपर्ने र त्यसपछि भने अग्नि स्थापना जुरेका दिन हवन गरी तुलसीको व्रत समापन गर्ने परम्परा रहेको प्रा. डा. भट्टराईले उल्लेख गरे । आयुर्वेद क्षेत्रमा लामो समय काम गरेका डा. वंशदीप शर्मा खरेलले तुलसीको वैज्ञानिक र औषधीय गुणहरूका कारण नै हाम्रा पुर्खाले घरघरमा यसको मठ बनाएर पूजा आराधना गर्ने परम्परा बसालेको बताए । तुलसीको चियाले मानव शरीरभित्रका कीटाणु नाश गरी स्वस्थ बनाउने भएकाले दैनिक सेवन फलदायी हुने उनको भनाइ छ । कोरोना महामारीका बेला पनि तुलसी, सुठो, पिप्ला, मरीच, त्रिकटुलाई काँडा पानी बनाएर पिउँदा फाइदा पुगेको उनले उल्लेख गरे । डा. खरेलले हाम्रा वनस्पति र खाद्यान्न स्वास्थ्यसँग सम्बन्धित रहेको भन्दै अमृतासमेत भनिने गुर्जो धेरै रोगका लागि लाभदायक रहेको बताए । वैज्ञानिक रूपमा बढी अक्सिजन दिने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रूपमा समेत प्रयोग गरिन्छ । तुलसीको मठ भएका स्थानमा रोग सार्ने विषालु कीटाणु नआउने विश्वास गरिन्छ भने वास्तु दोष निवारण भई सकारात्मक फल प्राप्त हुने मान्यता छ । तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्य वैज्ञानिक रूपमा पुष्टि भएको छ ।