
रौतहट । श्रीमतीको हत्या गरी साढे तीन वर्षदेखि फरार रहेका इशनाथ नगरपालिका–७ घिउरा गाउँ निवासी फैयाद मियाँ मनसुरीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटले सार्वजनिक गरेको सूचनाअनुसार उनलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको हो। फैयाद मियाँमाथि २०७८ साल माघ २६ गते आफ्नै श्रीमती २० वर्षीया चाँदनी खातुनको हत्या गरेको आरोप छ। चाँदनीको शव इशनाथ नगरपालिका–४ मठिया टोलस्थित भगाई साह बनियाको गहुँ खेतमा फेला परेको थियो। अनुसन्धान अनुसार फैयादले श्रीमतीको घाँटीमा सल बेरेर र मुख थिची हत्या गरेर शव गहुँ खेतमा फालेका थिए। घटनापछि फरार रहेका फैयाद मियाँको खोजी गर्दै जाँदा उनी भारततर्फ भागेका थिए भन्ने प्रारम्भिक अनुमान गरिएको थियो। तर, हालै प्राप्त विशेष सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको हो। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपककुमार रायका अनुसार फैयादलाई पक्राउ गरी रौतहट जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गराएर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ। घटनापछि लामो समयसम्म पीडित पक्षले न्याय नपाएको गुनासो गरिरहेका थिए। फैयादको पक्राउसँगै अब न्यायको प्रक्रिया अघि बढ्ने आशा गरिएको छ।



