अदालती समस्या नभए भार परीक्षण गरेर कालीमाटीको पुल सञ्चालन गर्छौं : मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले कालीमाटी—टेकु जोड्ने पक्की पुलको भार परीक्षण गरेर सञ्चालन गर्नेतर्फ सरकार लागिरहेको जानकारी दिएका छन् । मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री दाहालले भार परीक्षण गर्दा सञ्चालन योग्य देखिए सञ्चालनमा ल्याउने तयारी गरिरहेको जानकारी दिएका हुन् । ‘कालीमाटीको पुलको सन्दर्भमा कुरा आएको छ । पुल बनाउने निर्माण कम्पनीका निर्माण व्यवसायी बारम्बार मसँग पनि भेट गर्न धेरै चोटि आउनुभयो । मलाई पत्र पनि दिनुभएको छ,’ मन्त्री दाहालले भने। ‘यदि अदालतले गरेको स्टे अर्डर वा अदालतमा भएको कुराहरूले रोक्दैन भने अर्थ मन्त्रालयले एउटा सर्कुलर पनि जारी गरेको छ,’ उनले थपे, ‘आर्बिटेसनबाट निर्माण व्यवसायीले जित्यो भने मन्त्रालय, त्यो भन्दा माथिल्ला, उच्च अदालत र सर्वोच्च अदालतसम्म पनि जानुपर्छ भन्ने परिपत्र गरेको छ।’ दशकदेखि अलपत्र रहेको कालीमाटी–टेकु पुल सञ्चालन गर्ने कि भत्काउने भन्ने विषय अझैपनि अन्योलमा छ । २०७१ सालमा निर्माण थालिएको यो पुल पाँच वर्षमा सम्पन्न गरी सञ्चालनमा ल्याइएको थियो । तर निर्माण सम्पन्न भई केही समय सञ्चालनमा आइसकेपछि प्राविधिक समस्या देखिएको भन्दै बन्द गरिएको थियो । ठेकेदार कम्पनीले उक्त पुलमा कुनै पनि त्रुटि नभएको दाबी गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *