
मिस माल्टा चेरिस स्पिटेरी सोमबार नेपाल भ्रमणमा आइपुगेकी छन् । उनी सोमबार बिहान टर्किस एयरलाइन्सको जहाजमार्फत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थालमा अवतरण गरेकी हुन् । उनलाई नेपाल पर्यटन बोर्ड र एनआरएनए माल्टाको आगुवाइमा स्वागत गरिएको छ । उनीसहितको टोलीलाई ढाकाटोपी र पञ्चेबाजाले स्वागत गर्दै विमानस्थलमा अतिथ्यता प्रदान गरिएको हो । मिस माल्टासहितको टोली नेपाल भ्रमणमा आउनुले धेरै अर्थ राख्ने एनआरएनका अभियन्ता तथा माल्टाका लागि नेपालको पर्यटन दूत प्रकाश भण्डारीले जानकारी दिए । उनीहरुको भ्रमणले नेपालको पर्यटन प्रवद्धनमा महत्वपूर्ण भूमिका खेल्ने भण्डारीको विश्वास छ । नेपाली कामदारहरु पछिल्लो समय माल्टामा बढ्दो उपस्थितिबिच मिस माल्टाको भ्रमणले माल्टासहित समग्र युरोपमा नेपालको पर्यटन प्रवद्धनमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । टोलीमा मिस माल्टाका अन्य अन्य सदस्यहरु केस्टन बोर्ग, डेनियल जम्मिट, एलेक्सिया कटजर र क्यारोलिना सिउबोटारु छन् । नेपालमा रहँदा मिस माल्टाको टोलीले विभिन्न गैरसरकारी संस्थासँग मिलेर सामाजिक काम गर्नेछन् । यस्तै उनीहरु मिस नेपालको ग्राण्ड फिनालेमा पनि सहभागी हुने जनाइएको छ । चितवनसहितका पर्यटकीय क्षेत्रको भ्रमण गर्नुका साथै नेपाल चिनाउने डकुमेन्ट्री पनि निर्माण गर्ने टोलीको योजना रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता सोम सापकोटाले बताए । हाल मालटाबाट थोरै संख्यामा मात्रै पर्यटक नेपाल भित्रिने गरेका छन् । उपयुक्त प्रचार प्रसार हुन सके माल्टाबाट नेपालमा पर्यटक निकै बढ्न सक्ने सरोकारवाला बताउँछन् ।



