
एजेन्सी । जारी युरोकप २०२४ अन्तर्गत गएराति भएको सेमिफाइनल खेलमा फ्रासलाई पराजित गर्दै स्पेन युरो कप २०२४ को फाइनलमा प्रवेश गरेको छ ।
जर्मनको म्युनिखमा मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्स माथि २,१ को पुनरागमन जित दर्ता गर्न सफल भयो । खेलको पहिलो अग्रता भने फ्रानसले लिएको थियो । खेलको आठौं मिनेटमा मुआनीले हेडर गोल गर्दै फ्रान्सलाई १,० को अग्रता दिलाएका थिए । तर खेलको २१ औं मि नेटमा स्पेनले बराबरी गोल गर्यो । युरो २०२४ मा सनसनी प्रदर्शन गरिरहेका १६ बर्षीय लामिन यमालले बक्स बाहिरबाट सुन्दर गोल गर्दै बराबरी गर्न सफल भए । २५ औं मिनेटमा स्पेनले अग्रता लियो । डयानी ओल्मोले गोल गरेपछि स्पेन २,१ को अवस्थामा पुग्यो । त्यसपछि दुबै टोलीको तर्फबाट गोल भएन र १२ वर्षपछि स्पेन पुन: फाइनलमा पुगेको छ ।



