
यातायात व्यवस्था कार्यालय, कलैयाले चालू आवको पछिल्लो सात महिनामा तीन करोड ३१ लाख ८२ हजार ७६२ राजस्व सङ्कलन गरेको छ । २०८० मङ्सिर २५ गते बारा जिल्लाको सदरमुकाम कलैयाको गङ्गापुरमा शक्षिक तालीम केन्द्रको उत्तरपट्टि भवनमा प्रदेश सरकार मातहतको कलैया यातायात व्यवस्था कार्यालय सञ्चालनमा आएको थियो । सो कार्यालयले लाइसेन्स, सवारी नामसारी, हक हस्तान्तरण, रुट इजाजत ,जाचँपास, सवारीकर, सवारी नवीकरण लगायतका राजस्व सङ्कलन गर्दै आएको छ । कार्यालयले नयाँ लाइसेन्सतर्फ छ हजार ४७९ जनाले निवेदन दिएकमा दुई हजार ७१ जना उत्तीर्ण भई नयाँ लाइसेन्स लिएका छन् । नयाँ लासेन्सको लागि निवेदन शुल्काबापत ३२ लाख ४६ हजार पाँच सय राजस्व सङ्कलन गरेको छ । त्यसैगरी, लाइसेन्समा वर्ग थततर्फ एक हजार ३८९ जनाले निवेदन दिएका थिए, जसमध्ये ४९१ जनाले उत्तीर्ण भई लाइसेन्सका वर्ग थप गराएका छन् । वर्ग थप निवेदनबाट छ लाख ९४ हजार ५०० राजस्व सङ्कलन भएको छ भने वर्ग थपसहितको लाइसेन्स लिनेहरुबाट दुई लाख ४५ हजार ५०० राजस्व सङ्कलन भएको कार्यालय प्रमुख महम्मद नवाज हुसेनले जानकारी गराए । सबै थरी लाइसेन्स वितरणबाट मात्रै ७४ लाख २६ हजार राजस्व सङ्कलन भएको छ भने अन्य सेवा दिएबापत सबैभन्दा बढी राजस्व सङ्कलन भएको उनले बताए । लाइसेन्स नवीकरणबापत ११ लाख २४ हजार राजस्व सङ्कलन भएको छ । लाइसेन्सतर्फ कुल ८५ लाख ५० हजार राजस्व सङ्कलन भएको छ भने सवारीतर्फ दुई करोड ४६ लाख ३२ हजार सङ्कलन भएको छ । कलैयाको गङ्गापुरमा सो कार्यालय भएतापनि सेवाग्राहीहरु सङख्या र कामको दायरा बढ्दै गएको उनले बताए ।



