कप्तान लिओनल मेसीले पेनाल्टीमा गोल गर्न नसकेपछि गोलकिपर एमिलियानो मार्टिनेज नायक बन्दै दुई पेनाल्टी बचाएपछि अर्जेन्टिना विजयी बनेको हो । त्यसअघि निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेलको नतिजा सिधै पेनाल्टी सुटआउटबाट भएको हो । ३५औ मिनेटमा लिसान्ड्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । कप्तान लिओनल मेसीको कर्नरमा एलेक्सिस म्याक एलिस्टरले मिलाएको पासमा लिसान्ड्रोले गोल गरेका थिए । दोस्रो हाफमा इक्वेडरले बराबरी गर्ने अवसर गुमायो । ६१औं मिनेटमा इनर भ्यालेन्सियाले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार पोष्टमा लागेर फर्कियो । अर्जेन्टिनाका रोड्रिगो डे पउलले पेनाल्टी एरियामा बल ह्यान्ड गरेपछि इक्वेडरले पेनाल्टी पाएको थियो । तर गोल गर्न असफल रह्यो । अर्जेन्टिना भने यसमा भाग्यमानी बन्यो । तर इक्वेडरले इन्जुरी टाइममा बराबरी गोल फर्कायो । इक्वेडरका केभिन रोड्रिगेजले बराबरी गोल गरेका थिए । पेनाल्टी सुटआउटमा अर्जेन्टिनाका लागि जुलियन अल्भारेज, एलेक्सिस म्याक एलिस्टर, नाहुल मोलिना र निकोलस ओटामेन्डीले गोल गरे ।अर्जेन्टिनाका कप्तान लिणनल मेसीले प्रहार गरेको पहिलो पेनाल्टी क्रस बारमा लागेको थियो । अर्जेन्टिनाका गोलकिपर मार्टिनजेले इक्वेडरका सुरुवाती दुई पेनाल्टी हानेका एन्जल मेना र एलान मिन्डाको प्रहार बचाएका थिए । इक्वेडरका लागि जोन येबोअह र जोर्डी काइसेडोले मात्र पेनाल्टीमा गोल गरे । दुई पेनाल्टी बचाएका मार्टिनेज प्लेअर अफ दि म्याच बने । अर्जेन्टिनाले अब भेनेजुएला र क्यानडा बीचको विजेतासँग सेमिफाइनलमा खेल्नेछ ।
२०८१ असार २२, शनिबार ०९:४७



