
अग्रणी ब्याण्ड नेपथ्यले आगामी महिना अमेरिकामा श्रृंखलावद्ध सांगीतिक यात्रा गर्ने भएको छ । नेपथ्यले छैठों पटक उसका गीत सुनाउनका लागि अमेरिका जान लागेको हो । ब्याण्डले यसपटक अमेरिकाको पूर्वीदेखि पश्चिमी किनारासम्म सातवटा फरक फरक सहरमा आफुलाई प्रस्तुत गर्नेछ । सङ्गीत यात्राका निम्ति आगामी साता अमेरिका प्रस्थान गर्न लागेको टोलीले अगस्त ३ तारिखका दिन कोलोराडोको राजधानी डेनभर सहरबाट सांगीतिक यात्रा सुरु गर्नेछ । कोलोराडोमा नेपथ्यले पहिलोपटक सांगीतिक यात्रा गर्न लागेको हो । डेनभरको छेवैमा पर्ने बोल्डर थिएटर मा नेपथ्यले यो वर्षको अमेरिका यात्राकै पहिलो कोशेली प्रस्तुत गर्नेछ । त्यसपछिको दोश्रो प्रस्तुति अमेरिकाको पश्चिमी तटकै समृद्ध सहर सानफ्रान्सिस्कोस्थित वारफिल्ड थिएटर मा अगस्त १० तारिखका दिन आयोजना हुनेछ । तेश्रो प्रस्तुति ओहायो राज्यको राजधानी कोलम्बसको केम्बा लाइभ कन्सर्ट भेन्यू मा अगस्त १७ तारिखमा हुनेछ । त्यसपछिको चौथो कन्सर्टका लागि ब्याण्ड फेरि अमेरिकाको दक्षिणवर्ती भेगतिर फर्केर टेक्सास राज्य पुग्नेछ । त्यहाँ सबैभन्दा घना आवादी भएको सहर डालासमा ६ वर्षपछि नेपथ्य फेरि प्रस्तुत हुनलागेको हो । यसपालि ब्याण्डले टोयोटा म्यूजिक फ्याक्ट्री मा आफुलाई उभ्याउँदैछ । यो कार्यक्रम अगस्त २४ तारिखका दिन हुनेछ । त्यसपछि अमेरिकामा सबैभन्दा बढी प्रस्तुत भएको सहर न्युयोर्कमा पुग्नेछ । अघिल्लापटक जस्तै न्यूयोर्कको म्यानहटनमै प्रस्तुत हुने नेपथ्यले यसपटक टर्मिनल फाइभ मा आफना लोक धुनहरु पस्कने छ । त्यहाँ अगस्त ३० तारिख नेपथ्य साद्मँ आयोजना हुनेछ । न्यूयोर्कमा प्रस्तुत भइसकेपछि ब्याण्ड फेरि थोरै दक्षिणतर्फ बढेर मेरिल्याण्ड राज्य पुग्नेछ । त्यहाँ सेप्टेम्बर १ तारिखका दिन ब्याण्डले लाइभ क्यासिनो होटल मेरिल्याण्ड स्थित द हल एट लाइभ को प्रेक्षालयमा आफुलाई प्रस्तुत गर्नेछ । यसरी अमेरिकाका फरक फरक सहरहरुमा आफुलाई उभ्याइसकेपछि अन्तिम कन्सर्टका निम्ति नेपथ्य पेन्सिलभानियाको ह्यारिसवर्ग सहर पुग्नेछ । ब्याण्डको लागि यो सहर पनि पहिलो अनुभव बन्ने भएको छ । यसै सहरको द फोरम अडिटोरियम मा अमेरिकाको श्रृखलावद्ध यात्राकै अन्तिम अर्थात सातौं कन्सर्ट सेप्टेम्बर ७ तारिखका दिन आयोजना हुनेछ । द्मण्डै सय वर्षअघि यो हल सिम्फोनी अर्केष्ट्र प्रस्तुत गर्ने उद्देश्यका साथ तयार पारिएको थियो । नेपथ्यले सन् २००४ मा फिनिक्स र वासिङटन डिसिमा आफुलाई प्रस्तुत गर्ने उद्देश्यको साथ पहिलोपटक अमेरिका यात्रा गरेको थियो ।



