पर्सा-४ मा बहुपक्षीय प्रतिस्पर्धा

वीरगञ्ज । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पर्सा–४ मा चुनावी गतिविधि बढ्दै गएको छ । उम्मेदवारहरू कार्यकर्ता तथा मतदाता भेटघाटमा व्यस्त हुन थालेका छन् ।पर्सा सदरमुकामदेखि पश्चिमी भेगमा रहेको यो क्षेत्रमा शहरी मतदाता, उद्योगी–व्यवसायी, मजदुर तथा मध्यम वर्गको बाक्लो उपस्थिति रहेको छ । करिब ९५ हजार हाराहारी मतदाता रहेको पर्सा–४ मा विगतमा वामपन्थी र कांग्रेसबीच कडा प्रतिस्पर्धा हुँदै आएको थियो । यसपटक भने बहुपक्षीय प्रतिस्पर्धाको संकेत देखिएको छ । पुराना अनुहारसँगै नयाँ पुस्ताका उम्मेदवारहरू मैदानमा उत्रिएपछि पर्सा–४ को चुनाव थप रोचक बनेको छ । नेपाली कांग्रेसले यसपटक पनि आफ्नो पुरानै प्रभाव कायम राख्ने रणनीतिका साथ अनुभवी नेता रमेश रिजाललाई उम्मेदवार बनाएको छ । पार्टी संगठन, स्थानीय तहसम्मको पहुँच र परम्परागत मत बैंक कांग्रेसका उम्मेदवारको मुख्य आधार हो । २०४८ सालदेखि अहिलेसम्म रिजाल ८ पटक चुनावी मैदानमा ओर्लिएका छन् । ६ दशक लामो राजनीतिक संघर्ष गरेका रिजालले २०७९ सालको निर्वाचनमा नेकपा एमालेका जालिम मियाँ मन्सुरीलाई पराजित गरी निर्वाचित भएका थिए । पर्साको जगरनाथपुर गाउँपालिका–५, धर्मपुर मसिहानीका रिजालले १४ वर्षकै उमेरमा म्याट्रिक (एसएलसी) गरेर वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसबाट वाणिज्यशास्त्रमा स्नातक गरे । उनी विद्यार्थी जीवनमा नेविसंघको राजनीतिमा सक्रिय बने । २०२६–२०४६ को अवधिमा पटक–पटक गरी ३ वर्ष जेल जीवन बिताए । पर्सा–४ मा कांग्रेसको पकड खासगरी शहरी क्षेत्र, व्यापारी वर्ग र मध्यमवर्गीय मतदातामाझ बलियो देखिन्छ । यद्यपि, पार्टी भित्रको आन्तरिक असन्तुष्टि, गुटगत राजनीति र युवा मतदातामा देखिएको परिवर्तनको चाहनाले कांग्रेसका लागि चुनौती पनि उत्तिकै छ । पर्सा कांग्रेसको सचिवको जिम्मेवारीबाट पार्टी राजनीतिमा आएका रिजालले २०५९ सालमा प्रजातान्त्रिक कांग्रेस गठन हुँदा शेरबहादुर देउवालाई साथ दिएका थिए । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारमा २०७९ मा नेपाली कांग्रेसको तर्फबाट उनी उद्योग मन्त्री बनेका थिए । पर्सा–४ मा कांग्रेसको पकड खासगरी शहरी क्षेत्र, व्यापारी वर्ग र मध्यमवर्गीय मतदातामाझ बलियो देखिन्छ । यद्यपि, पार्टी भित्रको आन्तरिक असन्तुष्टि, गुटगत राजनीति र युवा मतदातामा देखिएको परिवर्तनको चाहनाले कांग्रेसका लागि चुनौती पनि उत्तिकै छ । नेकपा एमालेले पर्सा–४ मा संगठनात्मक बल र अनुशासित कार्यकर्तालाई आधार मानेर चुनावी मैदानमा उत्रिएको छ । अघिल्ला निर्वाचनहरूमा यस क्षेत्रबाट एमालेले उल्लेख्य मत पाउँदै आएको छ । एमालेको अहिलेका उम्मेदवार जालिम मियाँ मन्सुरी पार्टी पंक्तिमा लामो समयदेखि सक्रिय रहँदै आएका व्यक्ति हुन् । शहरी क्षेत्रसँगै मजदुर र निम्न आयवर्गमा एमालेको प्रभाव देखिन्छ । तर केन्द्रीय राजनीतिमा देखिएको उतारचढाव र अघिल्लो कार्यकालका कामप्रति उठेका प्रश्नले एमालेका लागि चुनाव सहज भने छैन । जहाँ कांग्रेस उम्मेदवार पार्टीको ऐतिहासिक मत बैंक र पुराना मतदातामा भर पर्छन्, त्यहीं मियाँ सक्रिय संगठन, बुथ तहको परिचालन र समुदायसँगको प्रत्यक्ष सम्बन्धलाई आफ्नो मुख्य शक्ति बनाइरहेका छन् । ७८ वर्षको उमेरसम्म पनि मियाँ राजनीतिमा छन् । उनी नेकपा माओवादीबाट २०७४ सालमा यस क्षेत्रको जगरनाथपुर गाउँपालिकाको अध्यक्षमा निर्वाचित समेत भए । पार्टीको केन्द्रीय तहस्तरसम्म पकड जमाएका मियाँ २०७८ सालमा एमाले प्रवेश गरेर २०७९ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका रिजालसँग पराजित भएका थिए ।  यदि चुनावमा कांग्रेस–एमालेको सिधा प्रतिस्पर्धामा सीमित रह्यो भने मन्सुरीको संगठनात्मक सक्रियताले कांग्रेसलाई कडा टक्कर दिन सक्ने अनुमान छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारप्रति बढ्दो आकर्षणले कांग्रेस र एमाले दलहरूलाई चुनौती दिने स्थिति पनि छ । यही परिवेशमा नेकपाका उम्मेदवार जयप्रकाश थारू पनि मतदाताको नजरमा छन् । जिराभवानी गाउँपालिका निवासी ६५ वर्षीय जयप्रकाश पर्साको राजनीतिमा आकस्मिक रूपमा उदाएका नेता होइनन् । एमाले हुँदै नेकपाका उम्मेदवार बनेका उनलाई लिएर विभिन्न कोणबाट टिप्पणी भइरहेका बेला समर्थक र पार्टी नेताहरू भने उनलाई स्थानीय राजनीति बुझेका र निरन्तर संघर्षबाट उदाएका उम्मेदवारका रूपमा प्रस्तुत गर्छन् । जयप्रकाश पर्साको राजनीतिमा नयाँ अनुहार होइनन् । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा एमालेबाट उनी पर्सा–५ बाट पहिलो पटक निर्वाचनको मैदानमा उत्रिए । त्यतिबेला कांग्रेस उम्मेदवार रिजालसँग पराजय बेहोरे पनि उनी स्थानीय राजनीतिमा स्थापित नेतामा गनिन्छन् । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा उनले एमालेबाट उम्मेदवारी दिँदै विजय हासिल गरे, जसले जिल्लास्तरीय राजनीतिमा चिनायो । त्यसपछि २०७४ र २०७९ मा पर्सा–४ (क) बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार बने, तर दुवै पटक पराजित भए । तत्कालीन नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य हुँदै रास्वपा प्रवेश गरेका टेकबहादुर शाक्यको उम्मेदवारीले यस क्षेत्रमा केही अलग छाप छोड्ने देखिएको छ । यता, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पर्सा–४ मा राम्रो प्रभाव छाड्ने आकलन हुन थालेको छ । सुशासन, प्रतिबद्धता र पुराना दलप्रतिको असन्तुष्टिलाई आफ्नो मुख्य एजेन्डा बनाउँदै रास्वपाले युवा र शिक्षित मतदातालाई आकर्षित गर्ने प्रयास गरिरहेको छ । तत्कालीन नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य हुँदै रास्वपा प्रवेश गरेका टेकबहादुर शाक्यको उम्मेदवारीले यस क्षेत्रमा केही अलग छाप छोड्ने देखिएको छ । पर्सा–४ मा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार कृपासिन्धु चौधरीको उम्मेदवारीले कांग्रेसको मत संरचनामा असर पर्ने देखिन्छ । कांग्रेसको पृष्ठभूमिबाट राजनीति सुरु गरेका चौधरी जसपामा प्रवेश गरेर निर्वाचन मैदानमा उत्रिए हुन् । वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख र राष्ट्रिय योजना आयोगका पूर्वसदस्यसमेत भइसकेका चौधरी त्यस भेगमा बौद्धिक छविका व्यक्ति मानिन्छन् ।चौधरीको उम्मेदवारी केवल जसपाको तर्फबाट भएको प्रतिस्पर्धा होइन, यो कांग्रेस भित्र लामो समयदेखि दबिएको असन्तुष्टिको बाह्य अभिव्यक्ति पनि हो । यद्यपि, संगठनात्मक कमजोरी र स्थानीयस्तरमा प्रभावशाली अनुहारको अभावले नयाँ उम्मेदवारहरूलाई सहज भने छैन । यो क्षेत्रमा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले पनि उम्मेदवार उठाएको छ । २०७९ सालको स्थानीय तह चुनावमा ठोरी गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टी नेपालबाट उम्मेदवार बनेका विष्णु लोप्चनलाई श्रम संस्कृति पार्टीले उम्मेदवार बनाएको छ । यस क्षेत्रमा लोप्चनले राम्रो प्रभाव पारिरहेको पार्टी जिल्ला संयोगक प्रताप पाख्रिन दाबी गर्छन् । प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरिसकेका तीन पुराना अनुहार र नयाँ उम्मेदवारहरूको दौडले यस क्षेत्रको चुनावी भिडन्त निकै रोचक देखिने निश्चित छ ।