साबिक विजेता पुलिस वीरगन्ज गोल्डकपको सेमिफाइनलमा

वीरगन्ज : साबिक विजेता नेपाल पुलिस क्लब दोस्रो वीरगन्ज गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। आदर्शनगर रंगशालामा सोमबार भएको तेस्रो क्वाटरफाइनल खेलमा सर्लाहीको बागमती युथ क्लबलाई २–१ ले पराजित गर्दै पुलिसले अन्तिम चारमा स्थान पक्का गरेको हो।  पुलिसको जितमा मनिष सेढाई र उज्वल राईले १/१ गोल गरे भने बागमतीका लागि सान्त्वना गोल भुपाल मगरले गरे। खेलको १६ औं मिनेटमा सुनिल तामाङले दिएको पासमा हेड गोल गरेर सेढाईले पुलिसलाई १–० को अग्रता दिलाएका थिए। त्यसको ९ मिनेटपनि बित्न नपाउँदै अर्थात् खेलको २६ औं मिनेटमा बागमतीका मगरले बराबरी गोल फर्काएका थिए। खेलको ७७ औं मिनेटमा पुलिसका राईले पुलिसका लागि दोस्रो गोल थपे।  इन्जुरी समयको अन्तिम मिनेटमा बागमतीका राज भुसालले दिएको पासमा सनम धिमालले पुलिसको बक्स नजिकैबाट गरेको सशक्त प्रहार गोल पोस्टको बार छेउबाट बाहिर गएपछि बागमती बराबरी गोल फर्काउन चुकेको थियो। सोमबारको खेलको म्यान अफ दी म्याच पुलिसका कप्तान रामचन्द्र वाजी घोषित भए। त्यसबापत उनले नगद १० हजार र ट्रफी प्राप्त गरे। सोमबार जित हात पारेर सेमिफाइनलमा पुगेको साबिक विजेता पुलिसले फाइनलमा प्रवेशका लागि अब बुधबार घरेलु टिम वीरगन्ज युनाइटेड क्लबसँग प्रतिस्पर्धा गर्ने छ। वीरगन्ज युनाइटेड भने उद्घाटन खेलमा भारतको गढवाल फुटबल क्लब दिल्लीलाई पराजित गर्दै यसअघि नै सेमिफाइनलमा प्रवेश  गरिसकेको छ।  प्रतियोगितामा मंगलबार चौथो तथा अन्तिम क्वाटरफाइनल खेल मच्छिन्द्र फुटबल क्लब काठमाडौं र एपिआई चर्च ब्वाइज युनाइटेड काठमाडौं बीच हुनेछ। मंगलबार हुने खेलको विजेता टिमले बिहीबार हुने दोस्रो तथा अन्तिम सेमिफाइनलमा सलहेश फुटबल क्लब सिराहासँग प्रतिस्पर्धा गर्नेछ।  भेट्रान सिटी क्लब वीरगन्जले आयोजना गरेको प्रतियोगिता फागुन २४ गतेसम्म चल्नेछ। प्रतियोगिताको उपाधि विजेता टिमले नगद ११ लाख ११ हजार १११ रुपैयाँ तथा उपविजेता टिमले ५ लाख ५५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *